समाचार

जाजरकोटमा तीन फिटसम्म हिँउ : पटक पटकको हिमपातले स्थानीय हैरान

जाजरकोट : जाजरकोटका उत्तरी तथा पश्चिमी क्षेत्रका लेकाली भू-भागमा पुनः हिमपात भएको छ । पटकपटकको हिमपात र वर्षात्ले स्थानीय हैरान भएका छन् । हिमपातले चिसो बढाएको छ ।

हिमपातसँगै जनजीवन कष्टकर भएको छ । मंसिर पुसमा हिउँ परे हिउँदेबाली र फलफूल खेती सप्रने गर्दछ । तर पटक- पटक र बाली ठूलो भइसकेपछि परेको हिउँले बालीलाई झन् असर गर्ने किसानको भनाइ छ ।

‘हिउँ परेको बेला निकै चिसो हुन्छ । घर बाहिरै निस्कन गाह्रो हुन्छ । केटाकेटी र बुढाबुढी चिसोले बिरामी समेत हुन्छन् तर पनि हिउँ पनै पर्छ,’ कुशे ५ पाँचकाटियाका कर्णबहादुर थापाले भने, ‘हामी बाक्लो हिउँ परेपछि खुसी हुन्छौं । किनभने हिउँपरेको वर्ष भोकमरी हुँदैन ।’

हिउँपरेपछि वातावरण सफा हुनुका साथै पानीका मुहानहरु नसुक्ने, सिंचाई असुविधा भएका पाखोवारीमा लगाएको अन्नपात, फलफूल र तरकारी खेती सप्रिने थापाले बताए । तर पटक पटक हिउँ पर्दा चिसोले सताउने उनको भनाइ छ ।

बिहीबार साँझदेखि परेको अविरल वर्षातसँगै परेको हिमपातले जिल्लाको ग्रामीण जनजीवन निकै कष्टकर बनेको छ । हिमपातले चिसो बढेपछि जिल्लाको ग्रामीण भेगका जनताको दैनिक जनजीवन नराम्रोसँग प्रभावित भएको थापाले बताए ।

जिल्लाको कुसे गाउँपालिका,वारेकोट गाउँपालिका र जुनीजाँदे गाउँपालिकाका विभिन्न वस्तीहरुमा भारी हिमपात भएको छ । कुसे गाउँपालिकाको पैंक, पाँचकटिया, समाइला वारेकोटका रामीडाँडा, रोकायगाउँ नायकवाडालगायतका गाउँ र बस्तीहरुमा हिमपात अत्यधिक भएको हो ।

ति स्थानमा तीन फिटसम्म हिमपात भएको छ । यसअघि दुई पटकसम्म हिमपात भएपनि यसपटक अलि तलैसम्म बस्तीमै बाक्लो हिमपात भयो बारेकोट गाँउपालिकाका स्थानीय खगेन्द्र बोहराले भने,’ हिमपातले जनजीवन केही दिन कष्टकर भएपनि पर्यावरणको दृष्टिकोणले निकै राम्रो हुन्छ।’

हिमपातका कारण डाँडाकाडा र वस्तीहरु सेताम्य भएका छन्। खोला र मुलको पानी जमेकाले स्थानीयको दैनिक जीवन कष्टपुर्ण भएको कताए । उनले किसानी गरेर खाने र गाई भैंसी पालेका सर्वसाधारणलाई झन बढी समस्या परेको बताए ।

हिमपात र वर्षातका कारण चिसो बढेपछि साना बालबालिकाहरु, वृद्धवृद्धाहरु र विपन्न समुदायका सर्वसाधारण बढी प्रभावित भएका छन्। सदरमुकाम खलंगामा पनि वरिपरिका डाँडाहरुमा परेको हिमपातको असर देखिएको छ ।

सदरमुकाम खलंगा नजिकै पाँचकाटियामा हिउँ परेपछि हिँउ खेल्न जानेहरुको भीड बढ्न थालेको छ । कुसे गाउँपालिका र भेरी नगरपालिकाको वडा नम्वर १ र २को उच्च लेकहरुमा परेको हिमपातका कारण सदरमुकाम खलंगामा चिसो अत्यधिक वढेको स्थानीय रत्नराज हमालले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button