Englishआजको तस्बिरमनोरञ्जनरोजगारशिक्षासम्पादकीय

बजार मूल्यभन्दा डेढ गुणा बढीको मुल्य राखेर निकासी कर – महासचिव भट्टराई

झापा । बजार मूल्यभन्दा डेढ गुणा बढीको मुल्य राखेर निकासी कर तिर्नु परेपछि अलैँची व्यवसायी मारमा परेका छन् । नेपाली बजारमा अहिले अलैँची प्रतिमन २० हजार रुपैयाँमा कारोवार भइरहेको छ । तर भारतले अलैँचीमा प्रतिकेजी ८०० नेपाली अर्थात् भारतीय ५०० रुपैयाँ मुल्य निर्धारण गरेर त्यसको ५ प्रतिशत कर लिइरहेको छ ।

 

मुल्य बढी निर्धारण हुँदा अहिले व्यवसायी मारमा परेका छन् । नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजकुमार कार्कीले अलैँचीमा भारतले भारु ५०० प्रतिकिलो मुल्य कायम राखेका कारण व्यवसायी समस्यामा परेको बताउनुभयो ।
“नेपाली बजारमा ५०० रुपैयाँ प्रतिकेजीमा किनबेच भइरहेको अलैँचीको निकासी गर्दा मुल्य ८०० रुपैयाँ देखाउन सकिँदैन”, उहाँले भन्नुभयो, “सरकारले बजार भाउ अनुसार नै मुल्य समायोजन गर्न पहल गर्नुपर्छ ।”
नेपाली अलैँची बङ्गलादेश निर्यात गर्दा बङ्गलादेशले ३५ प्रतिशत निकासी कर लिने गरेको अध्यक्ष कार्कीले बताउनुभयो । तर, भुटानबाट बङ्गलादेश निर्यात हुने अलैँचीमा भन्सार शुल्क लाग्दैन । बङ्गलादेशमा अलैँची निकासीका लागि भन्सार छुट र सहज निर्यातको वातावरण बनाइदिन व्यवसायीले माग गरेका छन् ।
नेपाली कृषि उत्पादन निर्यातको वातावरण सहज बनाइदिन उद्योग वाणिज्य मन्त्रालयमा ‘डेलिगेसन’ लिएरसमेत गएको उहाँले बताउनुभयो । व्यवसायीले नेपाली कृषिजन्य वस्तु निकासीमा देखिएका समस्याका बारेमा मन्त्रालयका सचिव वैकुण्ठ अर्याललाई अवगत गराएका छन् । भारतले नेपाली अलैँचीमा लगाउँदै आएको भन्सार करको समायोजन र नेपाली अलैँची बङ्लादेश निर्यात गर्नका लागि पहल गरिदिन लगायतका विषयमा सचिव अर्यालसँग छलफल गरिएको अध्यक्ष कार्कीले बताउनु भएको छ । नेपाल निर्यात व्यवसायी महासङ्घका अध्यक्ष रामबहादुर गुरुङ, नेपाल हर्बल एशोसिएसनका अध्यक्ष गोविन्द घिमिरे, नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष कार्की लगायतको टोली डेलिगेसन लिएर जाँदा निकासी समस्या समाधान गर्न पहल गर्ने आश्वासन भने व्यवसायीले पाएका छन् ।
मन्त्रालयका सचिव अर्यालले मन्त्रालयले परराष्ट्र लगायतका अन्य निकायसँग छलफल गरी समस्या समाधान गर्ने आश्वासन दिएको अध्यक्ष कार्कीले बताउनुभयो ।
नेपाल अलैँची व्यवसायी महासङ्घ सचिव सुवास भट्टराईले पूर्वीनाका काँकडभिट्टाबाट अहिले अलैँची निर्यात भइरहेको बताउनुभयो । उहाँले भुटानबाट बङ्गलादेश अलैँची निर्यातमा कर नलाग्ने भएकाले भारतीय व्यवसायीले समेत अलैँची भुटान लगेर त्यहाँबाट निर्यात गर्ने गरेको बताउनुभयो ।

रेडियो भिजनबाट साभार गरिएको ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button