जीवन शैली

श्रम संस्कृतिको प्रतिक हिलोमा रमाउने पर्व, असार १५

असार १५ मनाऔं । खेतमा काम गरौं । प्रकृतिसँग रमाऔं । कृषकलाई सम्मान गरौं । र, आत्मनिर्भर नेपाल बनाऔं ।

 

असार १५ कुनै साधारण मिति होइन । यो नेपाली कृषकको आत्मा हो । सांस्कृतिक परम्परा र सामूहिक श्रम संस्कृतिको संगम हो । अनि, देशको खाद्य सुरक्षासँग जोडिएको दिन हो । नेपाल कृषिप्रधान देश हो । यहाँको जीवनशैली, संस्कार तथा चाडपर्वहरू अधिकांश कृषि प्रणालीसँगै गाँसिएका छन् ।

त्यसैको एउटा उदाहरण हो– असार १५, जुन दिनलाई ‘धान दिवस’, ‘रोपाइँ महोत्सव’ वा ‘दही चिउरा खाने दिन’ भनेर पनि चिनिन्छ । यो केवल खेतमा रोपाइँ गर्ने वा दही, चिउरा खाने दिन मात्र नभएर सांस्कृतिक, आर्थिक, सामाजिक र वैज्ञानिक दृष्टिले अत्यन्तै महत्वपूर्ण छ । ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमि : नेपालमा खेतीपाती हजारौं वर्षअघिदेखि गरिँदै आएको छ । प्राचीन संस्कृतिहरूमा पानीलाई जीवनको आधार मानिन्छ ।

असार महिना नेपालमा वर्षा सुरु हुने महिना हो । र, असार १५ त दिनभर पानी पर्ने उच्च सम्भावनाको दिन । यही कारण किसानहरू परम्परागत रूपमा यही दिन धान रोप्ने शुभ दिनका रूपमा मनाउँछन् । यस दिन कृषक, विशेषगरी महिला र पुरुष खेतमा नाचगान, झ्याउरे र दोहोरी गीत गाउँदै धान रोप्ने परम्परा आज पनि धेरै ठाउँमा जीवितै छ । गाउँघरमा मान्छेहरूले एक–अर्कालाई हिलो दल्ने, रमाइलो गर्ने, अनि खेतैमा दही चिउरा खाएर असार १५ मनाउने चलन रहिआएको छ । यसलाई कतिपयले ‘किसानहरूको होली’ पनि भन्ने गर्छन् । किनभने यहाँ पनि एकअर्कालाई हिलो दल्ने चलन हुन्छ ।

कृषि वैज्ञानिकहरूका अनुसार धानको रोपाइँका लागि असार १५ वरिपरिको समय सबैभन्दा उपयुक्त मानिन्छ । नेपालमा दक्षिण–पूर्वी मनसुन असार लागेलगत्तै प्रवेश गर्छ । पानी पर्न थाल्छ । त्यसको केही दिनमै जमिन चिसो अनि माटो गिलो हुन्छ, जसले रोपाइँ गर्न सजिलो बनाउँछ । असार १५–२५ को समय रोपाइँको उत्तम समय हो । यो समयमा तापक्रम र आद्र्रता दुवै अनुकूल हुन्छ । साथै, पानीले भरिएको खेतले पोषक तत्वहरू जोगाउँछ । असारमा रोपिएको धानलाई वर्षाको पानीले राम्रोसँग सिँचाइ गरिदिन्छ । ढिलो रोपाइँ गर्दा उत्पादनमा ह्रास आउँछ । केही अनुसन्धानहरूले देखाएका छन् कि असार मसान्तभन्दा ढिलो रोपिएको धानले २०–३० प्रतिशत उत्पादन घटाउँछ ।

दहीचिउरा यो दिनको परम्परागत भोजन हो । यसमा पनि वैज्ञानिक पक्षसमेत लुकेको छ । दही प्रोटिन, क्याल्सियम, भिटामिन बी–१२, प्री–बायोटिक र प्रो–बायोटिकले भरिपूर्ण हुन्छ । भारी कामपछि दही पचाउन सजिलो र पेटका लागि लाभदायक हुन्छ । चिउरा चामलको हलुका रूप हो । यसले ऊर्जा दिने, पच्न सजिलो हुने, खेतमा काम गर्दा गलेको शरीरलाई तुरुन्तै ऊर्जा दिन्छ । दुवै मिलाएर खाँदा शरीरलाई आवश्यक कार्बोहाइड्रेट र इलेक्ट्रोलाइट सन्तुलन मिल्छ । त्यसैले यो परम्परा केवल संस्कृति होइन, गहिरो स्वास्थ्य विज्ञानमा आधारित परम्परा पनि हो ।

सामाजिक सहकार्यको दिन : असार १५ केवल खेतीको सुरुवात होइन, सामाजिक एकता र सहकार्यको दिन पनि हो । यो दिनमा खेतमा सबैजना जुटेर गाएर, नाचेर काम गरिन्छ । यो सामाजिक सद्भाव र सामूहिक श्रम संस्कृतिको प्रतीक हो । खेतमा सँगै काम गर्ने चलनले समुदायमा विश्वास र सहयोगको भावना बढाउँछ । युवापुस्ता, महिला र पुरुष सबैलाई समान रूपमा रोपाइँमा सहभागी हुँदा लैंगिक समानताको सन्देशसमेत पाइन्छ ।

अचेल खेतमा रोपाइँ गर्नु भन्दा पनि फोटो, भिडियो बनाउनमात्रै पनि धान दिवस मनाएको जस्तो गर्ने प्रवृत्ति बढेको देखिन्छ । यसले बाहिरी नजरमा सांस्कृतिक पक्ष जोगिए पनि वास्तविक कृषि श्रम घट्दो छ । त्यसैले, आज हामीले यस दिनको वैज्ञानिकता बुझ्दै, परम्परालाई आधुनिक प्रविधिसँग समेट्दै अगाडि बढ्न आवश्यक छ । कृषिमा लगानी, अनुसन्धान, र युवाको आकर्षण बढाउन आवश्यक छ । यो केवल पर्व मात्रै नभएर राष्ट्रिय गौरवको पर्व बनाउनुपर्छ । त्यसैले, असार १५ मनाऔं । खेतमा काम गरौं । प्रकृतिसँग रमाऔं । कृषकलाई सम्मान गरौं । र, आत्मनिर्भर नेपाल बनाऔं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button