कर्णाली प्रदेश सरकारले चार महत्वपूर्ण निर्णय गर्यो

सुर्खेत । कर्णाली प्रदेश सरकारले बुधबार बसेको मन्त्रिपरिषद बैठकबाट चार महत्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा सचिव पद रिक्त रहेकाले सो पदमा कार्यवाहक सचिव नियुक्त गर्ने निर्णय गरिएको छ । यद्यपि, कसलाई तोकिएको भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।
त्यस्तै, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको रूपमा एक जनालाई कामकाजका लागि खटाउने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ । यस निर्णयमा पनि व्यक्तिको नाम उल्लेख गरिएको छैन ।
प्रदेश सरकारको वार्षिक कार्यक्रमअन्तर्गत दुई शीर्षकबाट स्थानीय तहलाई रकम निकासा दिन अख्तियारी पठाउने निर्णयसमेत बैठकले गरेको छ । यसैबीच, कर्णाली प्रदेशको आमसञ्चार तथा सूचना प्रविधि सम्बन्धी व्यवस्था गर्न बनेको ‘विधेयक, २०८२’ लाई प्रशासन तथा विधेयक समितिबाट आवश्यक परिमार्जनसहित प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरिएको छ ।