
चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा आजदेखि तीन दिनसम्म सञ्चालन हुने गरी पाँचौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८२ सुरु भएको छ। महोत्सवको उद्घाटन नेपाल सरकारका रक्षा मन्त्री मानवीर राईले गर्नुभएको हो।
नेपाल आदिवासी जनजाति चलचित्र महासंघद्वारा आयोजित उक्त महोत्सव महासंघका कार्यवाहक अध्यक्ष भुइसल लामाको अध्यक्षतामा सुरु भएको हो। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद्का अध्यक्ष ग्याल्जे लामा शेर्पा, महासंघका निवर्तमान अध्यक्ष अमृत सुनुवार, फोनिजका अध्यक्ष लक्की चौधरी, तथा विभिन्न जातीय चलचित्रकर्मी संघका प्रतिनिधि तथा आदिवासी जनजाति चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो।
जातजातिहरूको झाँकी, नृत्य र सांस्कृतिक प्रस्तुतीसहित सुरु भएको महोत्सवमा छ जना चलचित्रकर्मी र पत्रकारहरूलाई विशेष सम्मान गरिएको छ। निर्देशक नविन सुब्बा, निर्माता तथा कलाकार युवराज लामा, कलाकार तथा क्याप्टेन विजय लामा, र मोडल छिरिङ शेर्पालाई ताम्रपत्रद्वारा सम्मान गरिएको छ। साथै, पत्रकार डब्बु क्षेत्री र विष्णु शर्मालाई पनि सम्मान प्रदान गरिएको छ। आयोजक संस्थाका अनुसार, आदिवासी जनजातिको चलचित्र विकास, विस्तार र प्रवद्र्धनमा उल्लेखनीय योगदान दिएका व्यक्तिहरूलाई सम्मान गरिएको हो।
महोत्सवमा विभिन्न भाषाभाषीका १६ वटा चलचित्र प्रदर्शन गरिनेछ। उद्घाटन समारोहपछि आजै लिम्बु भाषाको ‘चे’, राजवंशी भाषाको ‘गाँ घर’, थारु भाषाको ‘जितियाके सनेस’, गुरुङ भाषाको ‘नाचुने जुन तारा’, मगर भाषाको ‘खिल’ तथा विदेशी शामी जातिको चलचित्र ‘फर आवर राइट्स’ प्रदर्शन हुनेछन्।
भोलि, असार ७ गते, नेवारी भाषाको ‘Sinking Civilization of Kathmandu Valley’, मगर भाषाको ‘ट्याङचलाक’, नेवारी भाषाकै ‘संकिपाया उन्ना’, गुरुङ भाषाको ‘जिउनी’, तथा मगर जातिको चिनारी वृत्तचित्र प्रदर्शन गरिनेछ। अन्तिम दिन गुरुङ भाषाको ‘मि–थो’ र तीनवटा विदेशी चलचित्रहरू, साथै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा निर्माण गरिएका जातजाति विशेष वृत्तचित्रहरू प्रदर्शन गरिने कार्यक्रम रहेको छ।
महासंघका निवर्तमान अध्यक्ष अमृत सुनुवारका अनुसार, प्रदर्शन गरिएका चलचित्रहरूमध्ये केहीलाई उत्कृष्टताको आधारमा पुरस्कार प्रदान गरिनेछ। उनले आफैँ अध्यक्ष हुँदा सुरु गरिएको महोत्सव आदिवासी जनजातिहरूको कला, संस्कृति, भाषा, भेषभूषा र जीवनशैलीको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको बताए।
महासंघमा माझि, मगर, सुनुवार, किरात राई, याक्थुङ मुन्च, थारु, राजवंशी, गुरुङ, धिमाल, थामी, भुजेल, तामाङ, शेर्पा र नेवाः जातिहरूका चलचित्रसँग सम्बन्धित संघसंस्थाहरू आबद्ध छन्, र ती सबै सह-आयोजकका रूपमा महोत्सवमा सहभागी छन्।
महोत्सवको उद्घाटन समारोहमा बोल्दै रक्षा मन्त्री मानवीर राईले नेपालका आदिवासी जनजातिको कला र संस्कृति अमूल्य रहेको उल्लेख गर्दै त्यसलाई चलचित्रमार्फत अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न सकिने धारणा व्यक्त गरे। उनले पर्यटन प्रवद्र्धनमा पनि आदिवासी जनजातिको कला र संस्कृतिको महत्वपूर्ण भूमिका रहने बताए।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आदिवासी जनजाति चलचित्रको प्रवद्र्धनका लागि बोर्डले वार्षिक ३५ लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको जानकारी दिए। उनले बोर्डले आदिवासी चलचित्रलाई व्यवसायिक बनाउनेतर्फ बजार व्यवस्थापन र नीतिगत पहलहरू गरिरहेको पनि बताए।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले अबको नेपाली चलचित्र रैथाने कला, संस्कृति र कथामा आधारित हुँदै गएको बताउँदै आदिवासी जनजातिको कथा, भाषा, जीवनशैलीलाई चलचित्रमार्फत अझ व्यापक बनाउनुपर्नेमा जोड दिए। साथै, संविधानले दिएको हक र अधिकारसम्बन्धी विषयवस्तुमा पनि चलचित्र निर्माण हुनुपर्ने उनले उल्लेख गरे।