पाँच सय डलरसम्मको प्रिपेड कार्ड जारी गर्न पाइने

२०७७ चैत्र ९, सोमबार
पढ्ने समय : 2 मिनेट

सर्वसाधारणले विदेशबाट अनलाइनमार्फत वस्तु तथा सेवा खरीद गर्नका लागि वार्षिक पाँच सय डलर बराबरको प्रिपेड कार्ड लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुले डलर वा अन्य विदेशी मुद्रामा प्रिपेप कार्ड जारी गर्न पाउने व्यवस्था गरेको हो ।

पछिल्लो समयमा अनलाइनमार्फत विदेशबाट सामान तथा विभिन्न सेवा खरिद गर्ने प्रचलन बढिरहेको छ । यसरी कारोबार गर्दा सर्वसाधारणले विभिन्न अनौपचारिक माध्यमबाट भुक्तानी गर्न थालेपछि केन्द्रीय बैंकले पहिलो पटक विदेशी मुद्रामा प्रिपेड कार्ड जारी गर्ने व्यवस्था गरेको हो ।
यो प्रावधानसँगै सर्वसाधारणले बैंकबाट विदेशी मुद्राको प्रिपेड कार्ड लिएर अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद गर्न पाउने भएका छन् । यसरी वस्तु तथा सेवा अनलाइनमार्फत खरिद गर्दा त्यसलाई कानुनले प्रतिबन्ध नगरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
कार्डबाट पुँजीगत कारोबारको लागि खर्च गर्न नपाइने र कार्ड प्रयोग गरी एटीएमबाट नगद झिक्ने, पीओएसलगायतका कारोबार गर्न नसकिने व्यवस्था मिलाउनु पर्न समेत निर्देशनमा उल्लेख छ ।
बैंकहरुले कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सक्नेछन् । तर कार्ड जारी गर्नुपूर्व प्रयोगकर्ताको ग्राहक पहिचान (केवाइसी) विवरण अद्यावधिक भएको र स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ व्यवस्था गरिएको छ ।
बैंकमा ग्राहकले अनुरोध गरेको दिनको विनिमय दरका आधारमा कार्डमा अमेरिकी डलर वा अन्य विदेशी मुद्रा जम्मा गर्नुपर्ने र एक्टिभ भएकोे दिनबाट कार्डको समयअवधि गणना गर्नुपर्नेछ ।
विदेशी मुद्राको प्रिपेड कार्ड प्रयोगकर्ताले विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरी विदेशी मुद्रा आम्दानी गरेको उक्त रकम पनि कार्डमा जम्मा हुने व्यवस्था मिलाउनु पर्ने र यो रकम कार्ड प्रयोगकर्ताको अनुरोधमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा हुन सक्ने व्यवस्था समेत गर्नुपर्नेछ । तर, कार्डमा पाँच हजार डलरभन्दा बढी विदेशी मुद्रा भएमा उक्त रकम अनिवार्य रुपमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
ग्राहकले एकभन्दा बढी संस्थाबाट यस्तो कार्डको सुविधा लिन पाउँदैनन् । बैंकले कार्ड जारी गर्दा ग्राहकसँग अर्को बैंकबाट सेवा नलिएको स्वघोषणा लिनुपर्ने र एक भन्दा बढी बैंकबाट लिएको पाइएमा कारवाही हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय