कोरोनाबाट मृत्यु भएका ५५ जनाको शव बोक्ने एम्बुलेन्स चालक समसुल मियाँको कथा

Hamropusta Online Tv

वीरगञ्ज । जगरनाथपुर गाउँपलिकाका समसुल होदा मियाँ (४७) ले एम्बुलेन्स चलाएर दुई श्रीमतीसहित १० जनाको परिवार पालेका थिए । भारतीय ज्वाइँको नाममा निकालेको एम्बुलेन्स उनका निम्ति जिउने सहारा बनेको थियो ।

मियाँले एम्बुलेन्समै शव पनि बोकिदिएर आपत परेकाहरुलाई सजिलो बनाइदिन्थे । तर, कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि १० चैतमा लकडाउन सुरु भएपछि पर्सा प्रहरीले भारतीय नम्बर प्लेटको उनको एम्बुलेन्स नियन्त्रणमा लियो ।

बिना एम्बुलेन्स दानापानी हराउने भएपछि मिया अत्तालिए । अब के गर्ने, कसो गर्ने भनेर उनको दिमागले काम गरिरहेको थिएन । तर, जब पर्सामा कोरोना संक्रमण देखियो । जिल्लामा सयौं एम्बुलेन्स भए पनि संक्रमित बोक्न कोही नमान्ने भए ।

नारायणी अस्पतालको एम्बुलेन्सलाई स्वाबको नमूना पीसीआर परीक्षणका लागि काठमाडौं लग्दैमा भ्याई-नभ्याई थियो । अनि मियालाई प्रहरी कार्यालयबाट सोधनी भयो, कोरोना संक्रमित बोक्ने हो ? उनले सहजै भने, ‘बिरामी किन नबोक्ने ?’

त्यही निर्णयले समसुल होदा मियाँलाई फ्रन्टलाइनमा खटिएका एक हिरो बनाएको छ । पर्साका कोरोना संक्रमितहरुलाई फटाफट बोक्ने एम्बुलेन्स चालक उनै हुन् । पर्साका ५१ जनाले कोरानालाई जित्न सकेनन् । घर वा अस्पतालमा ज्यान गुमाएका उनीहरुको शव व्यवस्थापन समसुल होदा मियाँकै दिलेरीका सहज भयो ।

Hamropusta Online Tv

कोरोना संक्रमणबाट मृत्यु भएपछि परिवारजनले समेत छुन मिल्दैन । अरु त पर-पर पार्ने भइहाले । तर, मियाले कतिपय अवस्थामा शवलाई आफैं उठाएर एम्बुलेन्समा राखेका छन् ।

फ्रन्टलाइन हिरो मियाँले कोरोनाकालको पेशागत अनुभव यसरी सुनाए :

मैले २०४४ सालदेखि नै गाडी चलाउन थालेको हो । तर, बालबच्चा भएपछि मेरो मात्र आम्दानीले पुगिरहेको थिएन । कहाँबाट पैसा बढी आउँछ, सोचिरहेको थिएँ । निजी गाडीभन्दा एम्बुलेन्स चलाएँ भने चौबिसै घण्टा काम र आम्दानी हुन्छ भन्ने लाग्योे, अनि त्यसैं गरेँ ।

एम्बुलेन्स चलाउँदा थाहा भयो, शव बोक्ने कम रहेछन्, मैले बोक्न थालेँ । आपतमा काम गरिदिँदा मानिसहरुले राम्रै पैसा दिन्थे । आठ-दश वर्षमा चार-पाँच लाख बचाएर छोरीको विवाह गरेँ ।

एम्बुलेन्स चलाउँदा २४ घण्टा ड्युटी हुन्छ । आधा रातमा कहिले पोखरा, कहिले काठमाण्डु त कहिले धरान जानुपर्ने हुन्छ । राति वीरगञ्ज आइपुग्दा गाउँमा रहेको घरमा जान भ्याइँदैन । अर्काको गाडी लिएर घर जान पनि पाइँदैन । त्यसपछि ज्वाइँको नाममा रहेको भारतीय एम्बुलेन्स ३ लाख ३१ हजारमा किनेर यहाँ (वीरगञ्जमा) चलाएँ ।

श्रीमती र बालबच्चा छन्, मैले नदिए उनीहरुले कसरी खान्छन् भने लाग्छ र मेहनत गर्छु । श्रीमतीका नाउँमा पनि थोरै जग्गा जोडेको छु ।

तर, कोरोना कहरसँगै लकडाउन सुरु भएको छ । त्यसको तेस्रो दिन नै मेरो गाडी भारतीय नम्बर प्लेटको भएकाले स्थानीय प्रशासनले समात्यो । म समस्यामा परेँ । यसै घरमा बसिरहेको थिएँ, छिमेकी दाइले अरुको गाडी पनि छोडिरहेका छन्, तिम्रो पनि छोड्छ होला भन्नुभयो ।

मैले पर्साकी एसपी गंगा पन्तलाई फोन गरेर पर्सा-बारा जिल्लाको शव ठाउने मै हुँ, मेरो एम्बुलेन्स गण्डक अस्पतालबाटै समातियो भनेँ । उहाँले बोलाएपछि बिहान प्रहरी कार्यालय पुगें । एसपीले एउटा कागज दिँदै कसैले रोक्यो भने यो देखाउनू भन्दै गाडी छाडिदिनुभयो ।

चैत अन्तिमबाट वीरगञ्जमा संक्रमण देखियो । मैले कोरोना संक्रमितलाई अस्पतालसम्म पुर्‍याउन थालेँ ।

२८ जेठमा घण्टाघरमा बेवारिसे शव भेटिएको छ भनेर प्रहरीबाट फोन आयो । मैले नारायणी अस्पतालमा पुर्‍याएँ । दुई दिनपछि उसमा त कोरोना संक्रमण देखिए छ । प्रहरीले अब कम्तिमा सात दिन परिवारसँग नबस्नू भने, त्यही गरेँ ।

साउनमा त दिनहुँ मानिस मर्न थाले । उठाउन कोही नमान्ने । मैले नै सुरुमा तिलावे पुल छेउमा र पछि जंगलमा शव पुर्‍याउँथे, सुरक्षाकर्मीले गाड्ने काम गर्थे । कुनै-कुनै शव जलाउँदा स्थानीयले विरोध गरे ।

शव गाडीमा छ, बाहिर झडप हुने स्थिति आयो । त्यस्तो बेला मध्यरातमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी आउँथे । म गाडीमा शव लैजान्थें र राति नै गाड्थ्यौं ।

अहिलेसम्म मलाई स्वास्थ्यमा कुनै समस्या आएको छैन । तर, कहिले काहीँ मलाई केही भयो भने बालबच्चालाई कसले हेर्छ ? भन्ने चिन्ता लाग्छ । तर, डराएर शव उठाउन सकिँदैन ।

पर्सामा सयजना जति एम्बुलेन्स चालक होलान् । तर, शव उठाउने कोही छैन । कसैले न कसैले यो काम गर्नैपर्थ्यो, मैले गरेँ । पीपीपी सेट लगाएर दिनरात खटेँ । एकपटक त निरज सिंहले ‘गुरुजी, अरुले मानेनन्, तपाईले उठाईदिनुस्’ भन्दै हातै जोड्नु भएपछि मैले हार्न सकिनँ ।

अहिलेसम्म बारा पर्सामा मृत्यु भएका अधिंकाश संक्रमितको शव मैले नै उठाएको छु । संक्रमितको एउटा शव उठाएको १० हजार रुपैयाँ आउँछ भन्ने थियो । तर, सीडीओ सा’बले पाँच हजार कायम गरिदिनुभएछ । केही समय पहिले एकैपटक एकमुष्ट १ लाख ८५ हजार पाएर जग्गावालालाई बैना दिएँ ।

यसरी नै चल्दै थियो, एकदिन एकजना इन्स्पेक्टरले फोन गरेर ‘समसुल भाइ, नागरिकता र ड्राइभिङ लाइसेन्स लिएर आउनुस्, नगरपालिकामा जागिर लगाइदिन्छु’ भन्नुभयो । कति पैसा आउँछ भनेर सोध्दा ‘२०-२२ हजार होला’ भन्नुभयो । मैले भयो (जागिर गर्दिनँ) भनेँ । एसपी, डीएसपी सा’बहरु जागिर खाँदा राम्रो हुन्छ भनेर सम्झाउनुभयो र नगरपालिकामा जागिर लाग्यो ।

कोभिड कालमा दुःख त धेरै पाएको छु । शरीर पसिनाले भिजेको हुन्छ, पेटले खाना खोजिरहेको हुन्छ, पीपीई सेट खोल्न मिल्दैन । दिनरात भोकैप्यासै खट्नुपर्छ । यसरी काम गर्दा पनि मानिसहरु ‘तिमी कोरोना संक्रमितको लास उठाउँछौ, अलि पर बस’ भन्छन् । मेरो आफ्नै परिवारका सदस्यहरु पनि डराउँछन्, तिमी संक्रमितको शव उठाउँछौं, हामीलाई पनि कोरोना सर्न सक्छ भन्छन् ।

त्यसैले म छुट्टै घरमा क्वारेन्टिन बस्छु । यसरी बस्दा छोराछोरीले खाना ल्याएर छोडिदिन्थे । यसो गर्दा शुरुमा बहुत नराम्रो लाग्यो । रातमा निन्द्रा लाग्दैनथ्यो । अब यो काम नै छोडिदिउँ जस्तो पनि लाग्थ्यो, तर मैले छाड्न मिलेन ।

सात महिना कोभिडमा काम गरेँ । अहिले एकदम ठीक छु, पीसीआर टेष्ट गराउनुपर्ने अवस्था आएको छैन । अझै काम गर्न तयार छु । साथीभाइ गाली दिन्छन्, मलाई मतलब छैन । उनीहरु आफूले जानेको कुरा गर्छन्, म आफूले जानेको काम गर्छु ।

Facebook Comments

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: