५ राम्रा पाकिस्तानी फिल्म, युट्युबमा

भारतबाट अलग भएपछि सुस्त गतिमा जग हालेको पाकिस्तानी फिल्म उद्योगका लागि १९६० देखि ७० को अन्ततिरसम्मको समय उर्वर कालखण्ड मानिन्छ। तर यो समयमा पनि पाकिस्तानमा बलिउडको बलियो प्रभाव थियो।

भारत र पाकिस्तान विभाजन हुनु अगावैदेखि लाहोर सिनेमाको केन्द्र थियो। सन् १९७१ पाकिस्तानबाट छुटिएर बंगलादेश बनेसँगै पाकिस्तानले सिनेमाको अर्को केन्द्र ढाकालाई गुमायो। सन् १९८० को दशक जिया उल हकको शासनकालमा फिल्म क्षेत्र संकुचित भयो।

यसबाट बाहिर निस्कन पाकिस्तानी सिनेमाले २१ ‍औं शताब्दीको समय कुर्नुपर्यो। यो समयमा पाकिस्तानी स्वतन्त्र सिनेमा बन्ने क्रम बढ्यो।

‘खुदा के लिए’ र ‘बोल’जस्ता गम्भीर मुद्दामा बनेका फिल्मले पनि दर्शक पाउन थाल्यो। यही सकारात्मक संकेतका कारण धेरैले यो समयलाई पाकिस्तानी सिनेमाको समय फर्किएको समेत माने। तै पनि राजनीतिक अस्थीरता र धार्मिक कट्टरताजस्ता समस्याले पाकिस्तानी सिनेमामा अपेक्षित सुधार आउन बाँकी नै छ।

चुनौतीबीच अवसर खोज्ने देशभित्र र प्रवासमा रहेका पाकिस्तानी निर्देशक-निर्माताहरू यति बेला सक्रिय छन्। यसको प्रभाव सकारात्मक देखिएको छ। पाकिस्तानी सिनेमा हाल देशबाहिरको बजार र अन्तर्ष्ट्रिय महोत्सवहरूमा ठाउँ बनाउन प्रयासरत छ।

यो सूचीमा केही समीक्षकबाट प्रशंसा पाएका र केही व्यवसायिक हिसाबले चर्चा कमाउन सफल गरी युट्युबमा उपलब्ध पाँच सिनेमा छानिएका छन्।

केक (२०१८), निर्देशक: असिम अब्बासी

राम्रो पाकिस्तानी फिल्म कस्तो हुन्छ? यो जिज्ञासाको सहज उत्तर हुनसक्छ, ‘केक’।

‘केक’ पारिवारिक हाँसखेल, मनमुटाव, सम्बन्ध व्यवस्थापन र चुनौतीको एउटा स्वादिलो कथा हो। यस्तो कथा जसले पात्रसँगै हसाउँछ, रुवाउँछ।

जरीन (अमीना शेख) वृद्ध आमाबुवाको हेरचाह र घरको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने पात्र हुन्। बुबालाई आइसियुमा भर्ना गरेको खबर पाएपछि लन्डनमा भएकी बहिनी कराँची आउँछिन्। बहिनी जारा (सनम सईद) घर फर्केलगत्तै दिदीबहिनीको सम्बन्धमा प्रेम र घृणाको दोहोरो अन्तरविरोध देखिन थाल्छ। यो अन्तरविरोध हुनुमा विगतको एउटा महत्वपूर्ण घटना कारक हुन्छ। त्यो कारणलाई फिल्ममा पत्रपत्रमा खुलाइएको छ। यसले फिल्मलाई रोचक बनाएको छ।

उनीहरूका वृद्ध आमाबुबाको सम्बन्ध पनि कम्ता रोचक छैन। उनीहरू एकअर्कालाई बिछट्टै माया गर्छन्। तर त्यो प्रेममा कोमलताभन्दा नोकझोक बढी छ। परिवारका सदस्यहरूको सम्बन्धसँगै फिल्मका मुख्य महिला पात्रको प्रेम जीवन, निजी सपना र सम्झौताका कथा पनि सँगै अघि बढ्छ।

गाउँ, सहर र प्रवासी पाकिस्तानीका जीवनका अनेक पक्ष समेत छुने यो फिल्मको कथासँगै संवाद र सिनेमाटोग्राफी पनि गज्जब छ। ब्लकिङ र विम्बहरूसँग मजाले खेलिएको यो फिल्मको निर्देशनसँगै पात्रहरूको अभिनय राम्रो छ। फिल्मको संगीतले पनि पात्रका भावनाहरूको आवेग महशुस गराइराख्छ।

फिल्मका महिला पात्रहरू बलिया छन् भने मुख्य पुरुष पात्र इमानदार छन्। यो फिल्मका हरेक मुख्य पात्रसँग दर्शकको प्रेम बस्यो भने अचम्म हुँदैन।

लाल कबुतर (२०१९), निर्देशकः कमाल खान

साना-ठूला अपराध र आतंक कराँची सहरको दैनिकीको हिस्सा हो भन्दा फरक नपर्ला। ‘लाल कबुतर’ फिल्मभित्रको कराँची पनि यस्तै छ। यहाँ हिँड्दा हिँडदै ट्याक्सीमा बसेका यात्रुमाथि गोली चल्न सक्छ। ज्यान बचिहाल्यो भने पनि उसको सम्पत्ति लुटिन सक्छ। अनि, आफूमाथिको समस्या प्रहरी समक्ष लिएर गए उल्टै आफैंलाई हैरानी हुन सक्छ।

‘लाल कबुतर’को आरम्भमै नोमान मल्लिक नामका पात्रको हत्या हुन्छ। यो हत्याले आहत उनकी पत्नी आलिया मलिक (मान्सा पाशा) जोखिम मोलेर भए पनि हत्यारासम्म पुग्न चाहन्छिन्। यही क्रममा उनको भेट अदिल आलम (अहमद अली अकबर) सँग हुन्छ। दुबई जाने सपना बोकेर ट्याक्सी चलाउँदै पैसा जम्मा गर्ने उनी पैसाकै लागि सानोतिनो गलत कामसमेत गर्न हच्किँदैनन्। एकदिन आलिया अदिलको ट्याक्सीमा बस्न पुग्छिन्।

केही नाटकीय घटनाक्रमपछि अदिलले आलियासँग पैसा लिएर हत्याराको खोजी गर्न सघाउने वाचा गर्छन्। आलिया भने अदिलबाट त्योभन्दा बढी अपेक्षा गर्छिन्। नोमान मल्लिक (अली कज्मी) को हत्यारासम्म पुग्ने क्रममा यी दुई पात्रले गर्ने यात्रा रोमाञ्चक छ। यो यात्रामा भेटिने धेरै पात्रमध्ये प्रहरी इन्सपेक्टर इब्राहिम (रशिद फारूकी) पनि केन्द्रीय भूमिकामा देखिन्छन्।

नोमानका हत्यारा को होला? आलियाका लागि जोखिम मोलेर हत्यारासम्म पुग्न किन महत्वपूर्ण छ। यो लफडामा अदिलको दुबई जाने सपना पूरा होला कि अधुरै रहला? फिल्मले यी सबै प्रश्नको उत्तर बोकेको छ।

एउटा रहस्यमयी थ्रिलर फिल्म मनपराउनेलाई ‘लाल कबुतर’ मजेदार फिल्म हो। मुख्य कलाकार मान्शा पासा, अहमद अली अकबर र रशिद फारूकीले स्वभाविक अभिनय गरेका छन्। कराँची सहरको भीडभाड र गल्लीको छायांकन फिल्मको अर्को विशेषता हो।

पिंकी मेमसाब (२०१८), निर्देशक: शाजिया अली खान

पाकिस्तानका धेरै फिल्लमा धेरै दोहोरिने नाम हो, दुबई। यो देशको नाम धेरै पाकिस्तानी मान्छेको दुःख हर्ने सपनाको विम्बको रूपमा फिल्ममा आइरहन्छ। ‘पिंकी मेमसाब’ त झनै दुबईमै छायांकन भएको फिल्म हो। ‘पिंकी मेमसाब’ भित्रको दुबईमा पाकिस्तानका विभिन्न पृष्ठभूमिबाट आएका पात्रहरू भेटिन्छन्।

पाकिस्तानबाट आफ्नो गाउँ छोड्न लागेको दृश्यबाट ‘पिंकी मेमसाब’की मुख्य पात्र पिंकीको कथा सुरू हुन्छ। कहिल्यै गाउँभन्दा बाहिर पाइला नचालेकी पिंकी (हाजरा यामिन) को हवाईजहाज यात्रादेखि दुबईको ट्याक्सी यात्राका दृश्यहरूले उनी निर्दोष भएको सावित गर्छन्। उनी दुबईमा भएको उच्च वर्गीय पाकिस्तानी परिवारको घरमा सहयोगीका रूपमा काम गर्न गएकी हुन्छिन्।

त्यहाँ बस्ने क्रममा पिंकी फिलिपिनो कुक र भारतीय ट्याक्सी चालकको साथी बन्छिन्। एक दिन दुबईको बाटोमा हराएपछि उनलाई अंग्रेजी सिकाइन्छ। दुबई र मालिकको घरको चालचलन पुरानो बन्दै जाँदा पिंकीको व्यक्तित्व पनि बदलिँदै आउँछ। कथा अघि बढ्दै जाँदा उनको जीवन पनि बदलिँदै जान्छ।

दुबई पुगेपछि पिंकीको बुझाई फेरिन्छ। उनले काम गर्ने ठाउँ फेरिन्छ। उनको रहर र प्राथमिकता फेरिन्छन्। दुबई आउँदाको सुरूकी पिंकी र फिल्म सकिँदासम्मको धेरै अन्तर देखिन्छ। पिंकीको यो यात्रा मार्फत् फिल्मले दुबईमा बस्ने पाकिस्तानी समुदायको कथा नजिकबाट देखाउँछ। विदेशलाई सुख र सन्तुष्टिको अन्तिम गन्तव्य ठान्ने वा बाध्यताले विदेशिनु पर्ने दक्षिण एसियाका हरेक देशमा पिंकीजस्ता पात्र भेटिने भएकोले पनि यो फिल्मको विषयवस्तु महत्वपूर्ण छ।

शाजिया अली खानको निर्देशनको यो महिला प्रधान फिल्म हो। निर्देशक र मुख्य कलाकार महिला हुनु यसको विशेषता हो। दुबईसम्बन्धी आफ्नै अनुभवलाई निर्देशक शाजियाले फिल्ममा चित्रण गरेकोले पनि फिल्मका धेरै कुरा काल्पनिक नभएर यथार्थको नजिक छन्।

पिंकीको भूमिकामा हाजरा यमिनका साथमा किरण मल्लिक, सन्नी हिन्दुजा, किरण मलिक कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन्।

माह-ए-मीर (२०१६), निर्देशक:अन्जुम शहजाद

‘माह-ए-मीर’ अठारौं शताब्दीका उर्दू तथा फारसी भाषाका महान कवि तथा शायर मीर ताकी मीरसँग सम्बन्धित फिल्म हो। मीरको सिर्जना र जीवनलाई पाकिस्तानको आधुनिक समय र शायरीसँग यसमा कुशलतासाथ जोडिएको छ। फिल्मले एकै पटक नयाँ र समयको कहानी भन्छ।

फिल्ममा फहाद मुस्तफा दोहोरो भूमिकामा छन्। एकातिर उनी आधुनिक समयमा फिट नखाने कवि र पत्रिकाको स्तम्भकार अहमद जमालको भूमिकामा छन्, भने अर्कोतिर उनी मीर ताकी मीर बनेका छन्। यी दुवै पात्रको प्रतिभा, स्वभाव संघर्षमा दर्शकले समानता भेट्छन्।

कराँचीको कफी पसलमा हुने नियमित जमघटबाट फिल्मको कथा अघि बढ्छ। यहाँ भेला हुने मानिसको भीडभन्दा जमाल फरक छन्। सत्य बोल्ने, नडराउने र चाकडी-चाप्लुसी नगर्ने उनमा अलग खालको पागलपन सवार छ। उनको स्वभावलाई बुझ्ने एक मात्र साथी दुबई गएपछि उनी एक्ला बन्छन्। उनको आलोचनात्मक चेतका कारण पत्रिकामा स्तम्भ छापिन रोकिन्छ।

उनको जीवनमा अन्योल छाएकै बेला डाक्टर कलीम (मन्जर सेहबाई) ले उनमा मीरप्रति रूचि जगाउँछन्। कलीमले नै जमाललाई परम्परागत र क्लासिक रचनाबीचको भेद बुझाउँछन्।

जमालजस्तै कलीममा पनि शायरी र प्रेमको पागलपन सवार छ। यी दुईको पात्रसँग मीरको अन्तर्सम्बन्ध के हो? उनीहरूको व्यक्तित्व र जीवनलाई मीरले कसरी प्रभावित पारेका छन्? फिल्ममा देखाइने यो कुराले नयाँ पुरानो समयका पुस्ताको विचारको अन्तर देखाउँछ। मीरको वास्तविक जीवन र केही काल्पनिक घटनासँग जोडिएको यो फिल्ममा यी दुई पात्रको अनौठो प्रेम सम्बन्धको कथा पनि रोचक शैलीमा बुनिएको छ।

देख तो दिल कि जाँ से उठता है
ये धुआं सा कहाँ से उठता है

मेहन्दी हसनले गाएको मीरको उत्कृष्ट यो गजललाई उनको लेखनको एउटा अब्बल उदाहरण मानिन्छ। मीरका रचनामा संगीतबद्ध हिन्दी फिल्मका दर्जनौं गीत-गजल लोकप्रिय छन्। उर्दू गजल, शेर-शायरीको मजा लिन र पाकिस्तानको विगत-वर्तमानलाई साहित्यको आँखाबाट चिहाउन यो फिल्म उपयोगी हुन सक्छ।

ना मालूम अफराद (२०१४), निर्देशकः नबील कुरेशी

यो आर्थिक संकटबाट गुज्रेका तीन पात्रहरूको कथा हो। श्रीमती र बहिनीसँग बस्ने शकील अन्सारी (जावद शेख) को घरमा फरहान अहमद (फहाद मुस्तफा) र मून (मोहसिन अब्बास हैदर) पनि बस्छन्।

बीमा कम्पनीमा काम गर्ने शकीलमा ग्राहक बनाउने कला छैन। शकीलसँग घर त छ तर उसको घर सरकारले भत्काउने निश्चित छ। त्यसमाथि ऊ बहिनीको बिहेका लागि दाइजो र अन्य खर्च जुटाउने चिन्तामा छ। यही चिन्ताले ऊ मर्नका लागि रेलवे लिकमा समेत सुत्छ।

मून घरका मान्छेलाई दुबईमा छु भनेर झुट बोलेर कराँचीमै अल्झेको छ।

यी तीन पात्र जान-अन्जानमा पैसा जुटाउने क्रममा अनेक तिगडम लगाउँछन्। एकपछि अर्को असफल प्रयासका बीच बैंक जलाएर बीमा दाबी गर्ने निर्णयमा पुग्छन्। यो काम उनीहरूले कसरी गर्लान्? उनीहरूका पछिपछि लागेका प्रहरी र अपराधीबाट उनीहरू जोगिएलान् वा थप अप्ठ्यारोमा पर्लान्?

यी सबै घटना थाहा पाउन फिल्म नै हेर्नु रमाइलो हुनेछ। हिन्दी फिल्म ‘हेराफेरी’ बाट प्रभावित यो हाँस्यप्रधान फिल्म हो।

यही कहानीबीच शकीलकी बहिनी र फरहानको प्रेम अनि मून र बैंककी कर्मचारीबीचको प्रेम प्रसंग पनि जोडिएको छ।

कराँची यस्तो सहर हो जहाँ हुने एकपछि अर्को अपराधका घटनामा कसको हात हुन्छ थाहै हुँदैन। फिल्मको नामले पनि यही अर्थ दिन्छ, नाम नखुलेका मान्छे।

व्यवसायिक रूपमा निकै सफल मानिएको यो फिल्मको सिक्वल ‘ना मालूम अफराद-२’ पनि युट्युबमा हेर्न पाइन्छ। सन् २०१७ मा रिलिज ‘ना मालूम अफराद-२’ सो वर्षकै सर्वाधिक कमाउने दोस्रो फिल्म बनेको थियो।

Leave a Reply

Back to top button
Close

Adblock Detected

%d bloggers like this: