जुम्ल्याहा दाजुभाइले बनाए हेरचाह गर्ने नर्स रोबर्ट

बुढापाकाले भन्ने गर्थे- बालखैमा मस्तिष्कमा बसेको छाप कहिल्यै मेटिँदैन । रोबोट फिल्म हेर्न जाँदा जुम्ल्याहा दाजुभाई लव कुस पनि भर्खर ६ वर्षका बालक नै थिए । त्यसअघिका फिल्मका बारेमा उनीहरुलाई अहिले केही याद छैन ।

तर, रोबोट फिल्म भने उनीहरुको मस्तिष्कबाट कहिलै हटेन । फिल्म हेर्न जाँनु अघि उनीहरुले रोबोट हुन्छ, रोबट पनि मान्छे जस्तै हिड्न र बोल्न सक्छ भनेर कल्पना गरेका पनि थिएनन् ।

जब रोबोट हिँड्दो रहेछ, काम पनि गर्दो रहेछ अनि बोल्दो रहेछ भन्ने थाहा भयो, त्यहाँबाट जुम्ल्याहा लव-कुश पन्थी र रोबटबीच नयाँ सम्बन्ध नै गाँसिन पुग्यो ।

लव भन्छन्, ‘हामी दाजुभाइले सुरुमा ससाना गाडी बनाउन थाल्यौं । सात आठ कक्षामा आइपुग्दा रोबोटलाई आवाजले पनि नियन्त्रण गर्न सकिन्छ भन्ने थाहा भयो । तर, त्यसका लागि प्रोग्रामिङको ज्ञान आवश्यक थियो । हामीले विभिन्न किताब किन्यौं, युट्युव, अनलाइन माध्ययम प्रयोग गरेर स्वःअध्ययन थाल्यौं ।’

अध्ययनसँगै अनुभव पनि आवश्यक थियो । पढेका विषयलाई व्यवहारमा उतार्दै गए । त्यसका लागि उनीहरुले तीन वर्ष समय बिताए । अन्ततः तीन वर्षको मेहनतपछि ‘गोगो रोबोट’ नामक पहिलो रोबोट तयार भयो ।

उक्त रोबटले मानिसको आवाजलाई पहिचान गरी सोधेका प्रश्नको जवाफ दिन सक्ने, मानिसको फेसबुक प्रोफाइलमा फोटा राखिदिने, गीत गाउने जस्ता काम गर्दथ्यो ।

Image may contain: 1 person

यो उनीहरुको लागि निकै ठूलो उपलब्धि थियो । तर उक्त रोबटले मानिसको स्वरुप भने पाएको थिएन । रोबोट हेर्न आउने सबैले मानिसको स्वरुपमा बनाउनु पर्ने सुझाव दिन थाले ।

लव भन्छन्, ‘त्यसपछिको हाम्रो परियोजना त्यसलाई मानिसको आकार दिनेमा केन्द्रीत भयो । हामीले मानिसको आकरमा ‘गोगो–२’ नामक नयाँ रोबट बनायौं । जुन अघिल्लो भर्सनको तुलानमा परिस्कृत पनि थियो ।’

लवका अनुसार गोगो–२ मानिससँगै हिड्न सक्ने, आँखा झिम्क्याउन सक्ने, फोटो खिचेर त्यसलाई एडिट गरी जुनसुकै सामाजिक सञ्जालमा पोष्ट गर्न सक्ने, किताब पढ्न सक्ने, घरमा रहेका सम्पूर्ण विद्युतीय उपकरणलाई नियन्त्रण सक्ने भयो ।

यो परियोजना उनीहरुका लागि अर्को खुड्किलो साबित भयो । विस्तारै उनीहरु बुटवलका रोबट ब्वाई भनेर चिनिन थाले । त्यतिमात्रै नभएर यसअघिसम्म परिवारसँग पैसा मागेर खर्च जुटाइरहेका उनीहरुले रोबोट बनाए बापत प्रोत्साहन स्वरुप स्थानीय सरकाबाट एकलाख रुपैंयाँ सहयोग समेत हात पारे ।

‘त्यस अघि हामी बुबाआमासँग पैसा मागेर आफ्नै खर्चमा रोबोट बनाइरहेका थियौं,’ उनी भन्छन्, ‘जब एक लाख सहयोग आयो, त्यसले हाम्रो मनोबल अझ बढायो ।’

उनीहरुले उक्त रोबटलाई ढाँकाटोपी र दौरा सुरुवालमा त सजाएका थिए । तर, बोल्ने भाषा भने अंग्रेजी थियो । त्यसपछि उनीहरुले नेपालकै पहिलो नेपाली भाषा बोल्ने र नेपाली भाषा बुझ्ने रोबोटको रुपमा त्यसलाई विकास गरे ।

Image may contain: 4 people

अहिले नेपालको पहिलो नेपाली भाषा बोल्ने रोबोट भन्दै प्याटेन्ट दर्ताको प्रक्रिया पनि अघि बढाएको लव बताउँछन् । उक्त रोबोटले नेपाली भाषामै सवाल जवाफ गर्न सक्थ्यो ।

आफ्नै शैलीमा जवाफ दिन्थ्यो । जसको मद्दतले उनीहरुले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागीता जनाए । जसमा उनीहरु छैटौं भए ।

उक्त प्रतिस्पर्धामा सहभागी हुँदा जजले रोबटले समाजमा ल्याउने परिवर्तनको बारेमा प्रश्न सोधे । तर त्यसको जवाफ उनीहरुले सोचेकै थिएनन् । लव भन्छन्, ‘त्यही प्रश्नले हामीलाई अब समाजको लागि उपयोगी हुन् गरी रोबोटको डिजाइन गर्नुपर्छ भनेर सोच्न बाध्य बनायो ।’

उनीहरुले त्यसका लागि के गर्ने भनेर कल्पना गर्दा गर्दै कोरोनाभाइरसको महामारी विश्वभर फैलियो । अस्पतालहरुमा रोबोटको प्रयोग गरी उपचार गरिएको, रोबटले अस्पतालमा सामान पुर्‍याउने काम गरेको समाचारहरु आउन थाले । त्यससँगै उनीहरु पनि अस्पतालमा प्रयोग हुन सक्ने रोबोट बनाउने परियोजनामा जुटे ।

उनीहरुको नयाँ परियोजना हो ‘गो–गो कोरोना रोबट’ । कोरानाका कारण सामाजिक दुरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा उनीहरुले अस्पतालमा नर्सको ठाउँमा नर्स जस्तै काम गर्ने रोबोट बनाए ।

सेतो पहिरन, रेडक्रसको लोगो सहितको सेतै टोपी लगाएको उक्त रोबोटलाई झट्ट हेर्दा कुनै मेसीन जस्तो लाग्दैन ।

Image may contain: 1 person

अझ हातमा फलफूल औषधी, स्यानिटाइजर र पानी सहितको थाली बोकेर हिड्दा कुनै नर्स बिरामीको सेवामा जुटिरहेको भान हुन्छ । दुई जुम्ल्याहा दाजुभाइको एक महिनाको मेहनतले एउटा राम्रो परिणाम दिएको छ ।

कक्षा ११ मा पढिरहेका १५ वर्षिया यी किशोरहरुको कलेज अहिले लकडाउनकै कारण बन्द छ । कलेज जानु नपर्ने भएपछि उनीहरुले रात-दिन लगाएर एक महिनामा यो रोबट बनाउन सफल भएका हुन् ।

जसले बिरामीका लागि औषधी, खानेकुरा पुर्‍याउनेमात्रै नभएर कुराकानी गर्न र बिरामीलाई मनोरञ्जन दिलाउन समेत सक्छ ।

यो रोबोट लकु (लवकुश) भर्सन–७ सफ्टवेयरबाट तयार पारिएको उनीहरुको भनाई छ । ६ फिट अग्लो यो रोबोटमा उच्च क्षमताको माइक्रोफोन, १२ मेगापिक्सेलको क्यामेरा र अल्ट्रासाउन्ड स्पिकर जडान गरिएको छ ।

७० हजार रुपैयाँ खर्च गरेर निर्माण गरिएको रोबटमा उच्च गतिको प्रोसेसर राखिएको छ । जसले रोबोट परिचालन र नियन्त्रणलाई सघाउ पुर्‍याउँछ ।

रोबोट चलाउनका लागि उनीहरुले मोबाइल एप समेत बनाएका छन् । लव भन्छन्, ‘यो अहिले एन्डोइड मोबाइलमा मात्रै चल्छ । मोबाइलबाटै सबैकुरा नियन्त्रण गर्न सकिने भएकाले प्रयोगमा गर्न समेत सजिलो छ ।’

त्यतिमात्रै नभएर उनीहरुले इन्टरनेट नभएको स्थानमा रोबोट चलाउन सकिने गरी राउटरको सिंग्नलको आधारमा समेत चल्ने बनाएका छन् । यसो हुँदा एपको माध्यमबाट राउटरको सहयोगमा एक किलोमिटरको दूरीबाटै यसलाई नियन्त्रण गर्न सकिने लवको भनाई छ ।

उक्त रोबोट अहिले प्रदेश ५ को सामाजिक विकास मन्त्रालयलाई दिइएको छ । मन्त्रालयले कोरोना विशेष अस्पतालमा यलाई सदुपयोग गर्ने जनाएको छ ।

Leave a Reply

Back to top button
Close

Adblock Detected

%d bloggers like this: