पहिलोपटक अनलाइन काता प्रतियोगिता : धनगढीका जगत र खोटाङकी रोस्मा पहिलो

देश कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न लकडाउनमा छ । लकडाउनको कारण खेलाडी तथा प्रशिक्षक एवं निर्णायकहरु पनि घरभित्रै छन् । जसले गर्दा कुनै पनि खेलको प्रतियोगिता तथा बन्द प्रशिक्षण ठप्प रहेका छन् । खेलाडीहरुले आआफ्नो घरमा व्यक्तिगत ढंगले अभ्यास गरिरहे पनि प्रतियोगिता हुन सकेको छैन ।

देश लकडाउनमा रहेकै बेला सितेरियो करातेतर्फ काताको अनलाइन प्रतियोगिता शुक्रबार आयोजना गरिएको छ । नेपालको खेल इतिहासमा अनलाइनबाट प्रतियोगिता गरिएको यो नै पहिलो भएको दावी गरिएको छ । काठमाडौंस्थित शंखडोल डोजोले प्रथम शंखडोल खुला अनलाइन काता प्रतियोगिता गरिएको हो ।
जसमा पुरुषतर्फ २२ र महिलातर्फ ११ जना खेलाडीले अनलाइन भाग लिएको डोजोका प्रमुख प्रशिक्षक भीमराज कारञ्जितले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा पुरुषतर्फ कैलालीको धनगढी कराते डोजोका जगतसिंह धानुक प्रथम भए । काठमाडौंको बालाजु डोजोका धीरेश श्रेष्ठ दोस्रो र नरहरि डोजोका स्वर्णिम मानान्धर तेस्रो भए ।

त्यस्तै महिलातर्फ खोटाङ डोजोका रोस्मा राई प्रथम, धनगढी कराते एकेडेमीका वर्षा साउद दोस्रो र सरिता श्रेष्ठ तेस्रो भए । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १२ हजार पाँचसय, ६ हजार पाँचसय र चार हजार नगद पुरस्कार प्रदान गरिएको मुख्य प्रशिक्षक कारञ्जितले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा लैनचौर डोजोका रेहान जावेद उदीयमान खेलाडी र सुर्खेतका प्रदीप राई भेट्रान खेलाडी घोषित भएका थिए ।

प्रतियोगिताको निर्णय पनि अनलाइनमार्फत नै गरिएको कार्यक्रम संयोजक सितेरियो करातेका राष्ट्रिय खेलाडी विजय लामाले जानकारी दिए । उनका अनुसार आठौं साफका स्वर्णपदक विजेता गंगाराम महर्जन र १३ औं साफका दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ सँगसँगै डोजोका प्रमुख प्रशिक्षक कारञ्जित र कार्यक्रम संयोजक लामाले अनलाइनमार्फत निर्णायकको भूमिका खेलेका थिए ।

प्रतियोगिता सञ्चालन गर्न आठौं साफका स्वर्ण पदक विजेता नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले विशेष सहयोग गरेको कार्यक्रम संयोजक लामाले बताए ।

Leave a Reply

Back to top button
Close

Adblock Detected

%d bloggers like this: