कर्णालीमा कोरोनाको डर : सरकार भन्दा देउताको भर

दैलेखको महावु गाउँपालिका–५ काशीकाँधमा चैत २३ गते पशुबलि चढाइयो । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगाइदिन धामीझाँक्रीसहित स्थानीयले पशुबलि दिएका हुन् ।

महाबु गाउँपालिका–५ काशीकाँधमा महाबैको गाथमा धर्ना दिई कोटडाँडा पञ्चबलि हाल्नेडाँडामा ६ वटा जीवजन्तुको बलि चढाइएको छ । बलिमा सुँगुर, राँगा, बोका, माछा, कुखुरा, परेवाको बलि दिइएको छ ।

लकडाउनको समयमा धेरै व्यक्ति भेला नहुन सरकारले निर्देशन दिएपनि स्थानीय नागरिकले सरकारको आह्वानलाई बेवास्ता गर्दै सामूहिक रुपमा बलि दिइएको धामी डिलबहादुर शाहीले बताए ।

जुम्लाको चन्दननाथ नगरपालिकास्थित तलिचौरका वासिन्दाले पनि केही दिनअघि पञ्चबलि दिए । स्थानीय भगवती देवीको पूजापाठ गरेर बलि दिइएको छ । चैत १६ गते कालिकोटको तिलागुफा नगरपालिकाका स्थानीयले कूलदेवता मस्टोको पूजापाठ गर्दै बोका बलि दिएका छन् । स्थानीयले गाउँमा कोरोना नभित्रियोस् भनेर कूलदेवतासँग भाकल गरेका छन् । नागरिकलाई सचेत पार्न लाग्नुपर्ने स्थानीय जनप्रतिनिधिकै अगुवाइमा गाउँले भेला भइ पशुबलि चढाएका छन् ।

डोल्पामा त्रिपुरासुन्दरी नगरपालिकाले पूजापाठ गर्दै बलि चढाएको छ । त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधिले त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा बलि चढाउँदै कोरोनाबाट बचाइदिन हारगुहार गरेका छन् । कर्णालीका अधिकांश मन्दिरमा पूजापाठ गर्ने र पशु बलि दिने क्रम बढेको छ ।

चैत १३ गते बिहीवार राति पश्चिम सुर्खेतको चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा घरआँगनको दैलोमा तेल हाल्दै खनेपछि निस्किने अँगार (कोइला) को टीका लगाए कोरोनाबाट जोगिने हल्ला फैलिएको थियो । कतिपयले त्यो हल्लाकै आधारमा आँगन खनेर अँगार खोजेका थिए ।

यी उदाहरण मात्र हुन्, कर्णालीमा कोरोना त्रासबाट जोगिन स्वास्थ्यकर्मीभन्दा देवीदेवताकै बढी विश्वास गर्ने गरेको पाइएको छ । कर्णालीमा धार्मिक आस्था र विश्वास मान्ने सर्वसाधारण अत्याधिक रहेका बताइन्छ । कर्णालीका नागरिक मात्रै होइनन्, उच्च ओहोदामा पुगेका जनप्रतिनिधि समेत धार्मिक विश्वासमा लागेका पाइन्छन् ।

‘देशमा जस्तोसुकै संकट आएपनि टर्छ भन्ने विश्वासले गर्दा हामीले मन्दिरमा बलि चढाएका हौं,’ त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाले भने । कतिपय स्थानमा पर्याप्त औषधि र स्वास्थ्यकर्मी नहुँदा स्थानीयमा अब कोरोनाबाट देउताले मात्र बचाइदिन्छन् भन्ने भ्रम देखिएको छ । ‘गाउँमा स्वास्थ्य चौकी त छ तर औषधि नै छैन,’ जुम्लाको कनकासुन्दरी गाउँपालिकाका बिर्खबहादुर बुढाले भने, ‘यस्तो अवस्थामा कसरी ज्यान जोगाउने ? अब हामीलाई देवताले मात्र बचाउने आश छ ।’

प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा. केएन पौडेलले शिक्षादीक्षाको अभाव भएका कारण सर्वसाधारणमा यस्तो बुझाइ भएको बताए । प्रदेश अस्पतालका कोरोना फोकल पर्सनको रुपमा समेत काम गर्दै आइरहेका डा. पौडेलले गाउँमा स्वास्थ्य शिक्षाको कमी भएका कारण अन्य तत्वले खेल्ने मौका पाएको बताए ।

‘हुम्लाबाट सिमिकोट आउनै ४ दिन लाग्छ । त्यहाँको गाउँबाट हामीले स्याम्पल ल्याउन जटिल छ, समय धेरै लाग्छ । मुगुबाट नै यहाँ स्याम्पल आउन ४ दिन लाग्ने गरेको अवस्था छ । अन्धविश्वासलाई मलजल गर्न कर्णालीमा भौगोलिक विकटताले महत्त्वपूर्ण भूमिका खेलेको मलाई महसूस भएको छ,’ उनले भने, ‘गाउँगाउँमा यातायात पुगेको छैन । ५०–६० वर्ष कटेका वृद्धवृद्धाको उपचार गर्न सुर्खेत ल्याउँदा लाखौं खर्च हुन्छ । विकटताको मार खेपिरहेका नागरिकको आर्थिक अवस्था समेत कमजोर भएका कारण पनि स्वास्थ्य संस्थामा सबैले सहजै पहुँच राख्न नसकेको हो ।’

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति डा. नन्दबहादुर सिंहले युरोप जस्ता देशका नागरिकमा पनि कुनै समयमा अन्धविश्वासले घर गरेको बताए । ‘युरोपमा कुनै कालखण्डमा अगाडि धामीझाँक्री लगाउनुपर्ने र पछाडि औषधी बाँड्दै हिड्नुपर्ने अवस्था थियो । त्यस्तो हुनुको कारण त्यहाँ पनि त्यतिबेला विज्ञानभन्दा बढी धर्मकर्ममा विश्वास थियो भनेर भन्न सकिन्छ,’ डा. सिंहले भने, ‘चेतनाभन्दा मान्छेको अन्धविश्वास बढी भएको, चेतनाको स्तर कमजोर भएको खण्डमा अन्धविश्वासले घर लिन्छ । भाग्यवादमा विश्वास गरेर बाँचेकाहरूलाई त्यो पाठ हुनसक्छ । मेडिकल ज्ञानको अभाव हुनु, अन्धविश्वासको परम्परा हो । कोभिड विरुद्धको एक यो एक पार्ट हुनसक्छ ।’

लोकन्तर

Facebook Comments

Leave a Reply

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: