सरकारले नै हार्‍यो चैनपुर मोर्चा

२०७७ पुष ८, बुधबार
पढ्ने समय : 4 मिनेट

खाँदबारी जिल्ला प्रहरी कार्यालयमा पुस्तकालय रहेछ । हिरासतमा पुस्तकालय ! अनौठो लागेको थियो । त्यहाँ मैले एउटा निकै राम्रो पुस्तक पढ्न पाएँ, ‘अर्थशास्त्र र २१ औँ शताब्दीको पुँजीवाद कस्तो होला ?’ भन्ने विषयक पुस्तक थियो । तीन महिनापछि कपाल छाँट्ने काम गरेँ ।

प्रहरीको व्यवहार अपवादवाहेक सरल थियो । तर, थुनुवालाई फसाउने कार्यमा कुशल रहेछ । खाँदबारी जिल्ला प्रहरी कार्यालयको प्रशंसा ‘गुलियो दलेको विषादी, नचिनेको बालशुलभ चेतना हो’ भन्ने लाग्यो । भोजपुरको प्रहरी प्रशासन र अदालत मूर्ख र असक्षम लाग्यो भने संखुवासभाको षडयन्त्रकारी लाग्यो । गोहीले सिकार गर्दा आँशु झारेको देखेर त्यसलाई दयालु भन्न सकिन्न/मिल्दैन ।

खाँदबारी आँखा अस्पताल (निजी) जाँदा असई मेहताले निकै अपमान गरे । त्यसदिन फर्केर हिसासतमा पल्टिएँ । मुद्दा फाँटका हवल्दार ताराले बयानका लागि बोलाए “प्रहरीको अनुहार हेर्न मन छैन, के को बयान ?” भनेर भित्रतिर फर्केर पल्टिएँ । ‘म त प्रहरी हैन नि, दाजुभाइ हो नि ।’ उनी भन्दै थिए । मैले फर्केर नहेरेपछि उनी गए ।

अपरान्ह ४ बजेतिर सई, असई, हवल्दारसहित आए । मसँग कुरा गर्न आएका रहेछन् । बोलाएपछि ‘ठीकै छ, के हुनु ?’ भन्दै भित्रतिर फर्केर सुतेँ । त्यसरी बयान भएन ।

अब भने उनीहरूले गम्भीरता महशुस गरेछन् । अर्को दिन बिहानै मुद्दा फाँटका सई उदयप्रसाद कट्टेल आएर औषधि, खानेकुरा, कापी, रेडियो, कलम सबै नमागेको सामान पनि दिए । त्यहाँ बिहानैदेखि असई मेहतालाई कारबाही गरेको हल्ला चलेको थियो । उनी वरपर देखिएनन् । असई मेहतालाई ताराले ‘एसपी सा’प’ भन्थे, डीएसपी भन्दा ठूलो पल्टने भएर ।

त्यसदिनदेखि प्रहरीहरू नरम व्यवहार गर्न थालेका थिए । दसैंताका कोतगार्ड फेरिए । टेलीश्रृङ्खलाको हर्के हवल्दारसँग काटीकुटी मिल्ने हवल्दार चक्रबहादुरलाई मैले नै ‘हर्के हवल्दार’ नाम राखिदिएको थिएँ । उससँग ठाकठुक परिरहन्थ्यो । उसले बारम्बार ‘धेरै पिसाब गरेर काम छैन, पानी थोरै खाऊ’ भनिरहन्थ्यो । सईसहित टोली थियो, त्यसदिन पनि त्यही भन्यो । मैले हकारेपछि ‘पानी छैन, के गर्नु त ?’ भन्यो । ‘अरुण नदीबाट लिएर आऊ, तिमी कुन डाक्टर हो पानी नखाऊ भन्ने ? लाज लाग्दैन ?’ मैले भनेँ । वातावरण स्तब्ध भयो । असईले ‘आज काम चलाउनुस्, भोलि म्यानेज गरौँला’ भनेर गए ।

त्यसदिनदेखि हर्के हवल्दार झन् नरम भयो ।

एकदिन एउटा हवल्दारले ‘सरले दाल र तरकारी बढी, खाना कम खानुहुँदोरहेछ । दालमा कार्बोहाइड्रेट र भातमा प्रोटिन हुन्छ । दाल तरकारी धेरै खाने बानी राम्रो हो ।’ भन्यो । हर्के हवल्दारभन्दा जान्ने भयो । ‘मैले साथी त्रिलोचनलाई यिनीहरूलाई त बालुवाटारको सल्लाहकार राख्नुपर्ने, किन खाँदबारी राखे होलान् ?’ भनेको थिएँ ।

यसरी बालुवाटारका मूर्ख भन्दा मूर्ख र क्षमताहीन हुलका बीचमा जीवन घिस्रिँदै थियो ।

हवल्दार ताराले औषधि उपचार, तातोपानी, खाजा आदिमा भने मानवीय सहयोग गर्थ्यो । गोरे दाइ भन्ने जवान अशोक घिमिरेले दशैँ विदामा विराटनगर गएका बेला औषधि ल्याएर मेरो ज्यानको रक्षा गरिदिए ।

समय बित्दै जाँदा त्रिलोचन र प्रहरीको बीचमा तनाव बढ्दै गएको थियो । खाँदबारी प्रहरीप्रति त्रिलोचनमा पनि अरुसरह भ्रम थियो । प्रहरी र अदालत मिलेर हाम्रो मुद्दा मुल्तवीमा पारेका थिए । मैले सञ्चारमा छोटो समाचार र एउटा लेख पठाएँ । समय बित्दै जाँदा प्रहरीको व्यवहार उदाङ्गो हुँदै गयो । तनावको, अथवा शीतयुद्धको वातावरणमा ३५ दिन बिताइयो ।

शुक्रबार प्रहरीले चैनपुर लग्यो । त्यसदिन काम भएन । आइतबार अदालतले मेरो ९ वटा बयान लियो । प्रहरीलाई जसरी पनि मलाई घेराबन्दीमा पारिन्छ र जेल पठाइन्छ भन्ने रहेछ । उसले राम्रो तयारी पनि गरेको रहेछ । ‘तपाईंलाई ठूलो घेराबन्दी छ, जेल हाल्न सक्छन् । तयारी राम्ररी गर्नुस् है’ कमरेड शिलुले म चितवन हुँदै भन्नुभएको थियो ।

कसैलाई यातना दिएर, कसैलाई मानसिक दबाव र कतिपयलाई इन्कारी बयान दिनै नसक्ने गरेर प्रहरीले मेरो विरुद्ध झोसपोल बयान दिएको, मेरो नाममा नक्कली विज्ञप्ति तयार गरेको र त्यसलाई पुष्टि गर्न विप्लवको विज्ञप्ति राखेको रहेछ । मैले त्यसको मोहतोड जवाफ दिएको थिएँ ।

सरकारी कार्यालयभित्र उभिएर ओली सरकार, प्रहरी र गृहमन्त्रालयको भण्डाफोर गरेको थिएँ । बयान लिनेमध्ये एकजनाले ‘कस्तो घत्लाग्दो बयान दिनुभयो । हामी तपाईंहरूप्रति पूर्वाग्रह राख्दैनौँ । बच्चालाई जाउलो ख्वाउन जागिर खाएको मात्र हो ।’ भने । उनले आफ्नो सफाइ दिन खोजेका थिए ।

अर्की अधबैँसे महिला काठमाडौंकी रहिछिन् । उनले बयान लिँदै व्यक्तिगत जीवनका प्रश्नहरू सोध्दै गर्थिन् । ‘म्याडमसँग भेटघाट नभएको कति भयो सर ?’ उनको मनभित्र आफ्नै पीडा बोलिरहेको थियो । ‘राजनीतिमा लागेपछि धेरै बोल्न जानिन्छ हो सर ? उमा भुजेलले पनि लामो लामो बोल्नुहुन्थ्यो’ हाँस्दै भनिन् ।

मैले ‘बयान लिने कोठामा प्रहरी राखेर स्वतन्त्र बयान कसरी हुन्छ ? म प्रहरी राखेर बयान दिन्नँ’ भनेपछि प्रहरीलाई उनले कोठाबाहिर निकालेकी थिइन् । मलाई प्रहरीकै अगाडि सरकार र प्रहरीको विरुद्ध बयान दिन त्रास थिएन । तर, अरु थुनुवा प्रहरी छेउमा बसेपछि इन्कारी बयान दिन सक्दैनथे । त्यसैले पद्दतिका लागि यो संघर्ष थियो । कर्मचारीहरू सरकारका आलोचक थिए । प्रहरीहरू अपवादबाहेक सरकारप्रति नकारात्मक देखिन्थे ।

दुई दिनमा बयान सकियो ।

सरकारी वकिलले ‘तपाईंहरूप्रतिको आरोप गम्भीर आरोपमा पर्दैनन्’ भनेका थिए । न्यायाधीशसँग घाम तापेर लामो छलफल भयो । जनयुद्धका कुरा भए । माइला लामा, खाँदबारी जेलका कुरा भए । कानुनका कुरा भए । न्यायाधीशले ‘तपाईं सञ्चारकर्मी र लेखक हुनुहुँदोरहेछ, यी विषयमा बहस चलाइदिनुहोला’ भनेका थिए ।

छलफल सकिएपछि सरकारी वकिलले ‘अदालतको संवेदनशीलताका कारण आजको छलफलको विषयहरू नलेखिदिनुहोस् है ।’ भने । मैले हत्कडी लगाएकै अवस्थामा डायरीमा लेखिरहेको थिएँ, त्यसकारण त्यो छलफल अहिले लेखिएका छैनन् । समाचार र लेखनका स्रोतहरूको सुरक्षा नगर्नेले लेख्न सक्दैनन् । यो हाम्रो धर्म अर्थात कर्तव्य हो ।

प्रहरीले मलाई लगाएका ९ वटा मुद्दाको फाइल पढ्नमात्रै एक हप्ता लाग्थ्यो । कार्यालय सहयोगी र हवल्दार ताराले हात लच्कने गरी फाइल बोकेका थिए । अदालत सरकारी भूमिकाप्रति असन्तुष्ट थियो ।

‘नो रिजर्भेसन इज गुड राइटिङ’ भन्छन् । तर, अदालतको मर्यादा र संवेदनशीलता बचाइदिनु मेरो दायित्व थियो । चैनपुर अदालतले ममाथिका ६ वटा मुद्दा सादा तारेख र तीनवटामा धरौटी मागेको थियो । धरौटी नतिर्ने, बरु जेल जाने सोचेको थिएँ । माइला लामालाई ‘म पनि आउँछु’ भनेर पत्राचार गरिसकेको थिएँ । तर, जिल्लामा औषधि नपाइएकाले शोभा र अष्ट्रेलियाबाट भतिज सुमनको सहयोगमा धरौटी राखेर रिहा भएँ ।

अदालतले मेरो फाइल पढेर न्याय, अन्याय छुट्याएर फैसला गरेको थिएन । मेरा कानुनी सहयोगी चेतनाथ र भवानीले भनिसकेका थिए, सरकार र हामी दुवैलाई संयमित गर्ने गरी मध्यपन्थी थुनछेक आदेश गरेको थियो । अदालतले फाइल पढेर होइन कि नजिर, वकिलसँगको छलफल र विभिन्न स्रोतका आधारमा आदेश गरेको थियो ।

ओली सरकारले अन्यत्र सकिएन भने संखुवासभामा मलाई जसरी पनि फसाउने षडयन्त्र र त्यसअनुसारको तयारी गरेको थियो । तर, चैनपुरमा मसँगको संघर्षमा सरकार पछारियो । खाँदबारीमा प्रहरी हवल्दार ताराले ‘आफ्नो कामप्रति इमान्दार हुनुपर्यो नि’ भनेका थिए । ‘तपाईंहरू इमान्दार भएर ९ वटा मुद्दा लगाइएको थियो । इमान्दारिता जनतासँग हुन्छ । प्रहरीसँग केको इमान्दारिता ?’ मैले भनेको थिएँ ।

संखुवासभा हिरासतमा एकप्रकारको तनाव थियो । ओली सरकारले फसाउने ठूलो तयारी गरेका कारण तनाव थियो । त्यहाँ पनि प्रहरी पराजित भएपछि व्यक्तिगत रुपमा एउटा मोर्चा जितेर फर्केको कमाण्डरको जस्तो मनोविज्ञान र उत्साह पैदा भएको थियो । अब सामाजिक फासीवादी सरकार, कानुनी र नैतिक दृष्टिले कतै पनि मेरो नजिक आउन सक्दैन भन्नेमा विस्वस्त भएँ ।

सरकारले भनिरहेको छ, ‘मसँग बन्दुक छ, म जे पनि गर्न सक्छु ।’ त्यस्तो गैरजिम्मेवार बन्दुकलाई नियन्त्रण गर्न के गर्नुपर्छ ? समाज विकासको नियम मात्र होइन, नेपालको आफ्नै अनुभवले त्यसको जवाफ दिइसकेको छ ।

–झुवानी रनपा ५, चितवन

(शर्मा विप्लव नेतृत्वको नेकपाका नेता हुन्)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय