प्रम ओलीको घोषणा : ‘साउन १ गतेबाट लागू हुने गरी वृद्धभत्ता बढ्छ’

२०७७ चैत्र १७, मंगलवार
पढ्ने समय : 2 मिनेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) बढ्ने घोषणा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा भत्ता बढाउँछु भन्दा कसैलाई आपत्ति लाग्नसक्ने बताए ।

‘अब साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्छ, कसैलाई आपत्ति लाग्ला । सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट लागू हुने गरी बढाइने छ,’ उनले भने, ‘बुढाबुढी पनि हेर्न थाल्यो, यो सरकार छिटो हटाउनुपर्‍यो । मान्छेहरूलाई भरेबाट अर्काे छटपटी शुरू हुन्छ, निद्रा लाग्दैन ।’

ओलीले देश प्रचण्ड भन्ने मान्छेका पछाडि सती जानुपर्ने भनेर प्रश्न गरे । उनले आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने सम्झौता प्रचण्डले नै च्यातेको बताए ।

‘केहीले भन्ने गरेका छन्, आधा–आधा थियो खै आधा–आधा ? भन्छन् । त्यो कागज बीचमै च्यातेर प्रचण्डले कार्यकारी चाहियो भनेको होइन ?’ उनले भने ।

यसै चैतमा महाधिवेशनको मिति तोकेर आफूले अध्यक्ष छाड्दा खोज्दा पनि अहिल्यै चाहियो भनेर विवाद गरिएको ओलीले बताए । ‘मैले भनेको हो – चैतमा महाधिवेशन गरौं, अध्यक्ष हुनुस्, महाधिवेशनको म्याद पनि तोकिएको थियो । यही २५–३० गतेसम्म अध्यक्ष माधव नेपाल भए भइहाल्थ्यो, मैले म हुन्न भन्दिएकै थिएँ । यति हतार ! तुरुन्तै चाहियो, अहिल्यै चाहियो,’ उनले भने, ‘मसँग अध्यक्षमै चुनाव लडेर हारेको मान्छे, मलाई चाहियो, मलाई चाहियो । धन्न मेरो निर्वाचन क्षेत्रको भएनन्, नत्र मलाई चाहियो भनिहाल्ने । चाहियो, चाहियो भनिहाल्ने ।’

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता गर्ने भनेर सिध्याउन खोजेको टिप्पणी गरे । ओलीले भने, ‘एकता गर्ने, एकता गर्ने भन्यो, पछि सिध्याउन खोजे ।’

प्रचण्डले केटाकेटी जस्तो सूर्य चिह्नमा दाबी गर्दा छक्क परेको उनले बताए । ‘प्रचण्डले सूर्य चिह्न मेरो हो भन्दा छक्क परें,’ उनले भने ।

बुद्धिजीवीको मुख्य काम केपी ओलीलाई हटाउनु हो जस्तो भएको उनले बताए । ‘मुख्य काम नै केपी ओली हटाउनु हो, किनकि केपी ओलीले देश विकास गर्न थालिसक्यो । विप्लवका समस्या समाधान गरिसक्यो । मेलम्चीको पानी आइसक्यो, छिटो हटाउनुपर्‍यो । यस्तो गर्न दिएर हुन्छ ? महन्थजी !’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय