अनिल कपुरले पैसाका लागि मात्रै पनि खेले चलचित्र !

२०७७ पुष २७, सोमबार
पढ्ने समय : 2 मिनेट

मुम्बई । अभिनेता अनिल कपुर बलिउडका लोकप्रिय र दिग्गज स्टारमध्ये एक हुन् । उनले बलिउडमा चार दशक पूरा गरिसकेका छन् । यति लामो यात्रा तय गरिसकेर बलिउडमा आफ्नो एउटा छुट्टै पहिचान बनाइसक्दा पनि उनले आज पनि काम माग्ने गरेको बताएका छन् ।

केही साताअघि आफ्नो उमेरको ६३ वसन्तलाई स्वागत गर्दै उनले बीबीसी हिन्दीलाई दिएको अन्तर्वार्तामा यो खुलासा गरेका हुन् । बलिउडमा संघर्ष गरेर आफ्नो एउटा पहिचान स्थापित गर्न सफल भइसक्दा पनि उनले काम पाउनकै लागि ‘न्यू कमर’ ट्याग भिरेको कुरा पनि खुलेरै गरेका छन् ।

पर्दामा हरेक पात्रलाई जीवन्त बनाउने अनिलले आफूलाई काम माग्न कहिले पनि लाज नलागेको र नलाग्ने बताएका हुन् ।

यस्तैमा हालै अनिलले कामकै बारेमा दिएको अर्को एउटा अन्तर्वार्ता पनि सार्वजनिक भएको छ । जसमा उनले जीवनको अप्ठ्यारो परिस्थितिमा पैसाका लागि मात्रै गरेका केही चलचित्रको नाम निर्धक्क बताएका छन् ।

उनी यतिमा मात्रै रोकिएनन्, जीवनको कुनै मोडमा फेरि पनि त्यस्तो कठिन समयबाट गुज्रिनु परेमा फेरि पनि पैसाकै लागि मात्र चलचित्र गर्न तयार हुने पनि खुलाए ।

बलिउडको चार दशकको यात्रामा उनले सयौँ चलचित्र गरिसकेका छन् । तीमध्ये केवल पैसाका लागि गरेका चलचित्रबाट उनलाई कुनै पछुतो छैन ।

हुन त अनिलको पोल्टामा थुप्रै चलचित्रको अफर नआउने होइन । तर पनि उनी आफूलाई मनपर्ने निर्देशक र चलचित्रमा आबद्ध हुन भने मागेरै भए पनि जाने गर्दछन् । अनिलको यही (डाउन टु अर्थ) व्यवहारले र उनको उत्कृष्ट अभिनय क्षमताले उनलाई दर्शक र चलचित्र निर्माताहरुमा पनि लोकप्रिय बनाएको हो ।

जीवनको कुनै मोडमा पैसाकै लागि मात्रै भनेर केही चलचित्र गरियो ? भन्ने प्रश्नको जवाफमा अनिलले यो खुलासा गरेका हुन् । “मैले गरेको छु । वास्तवमा म ती चलचित्रहरुको नाम पनि भन्न सक्छ, अन्दाज र हिर रांझा,” अनिल कारण सुनाउँदै अगाडि थप्छन्, “रुप की रानी चोरो की राजा (चलचित्र)पछि, परिवार संकटमा थियो र हामी सबैले बाँच्नका लागि आ–आफ्नो तर्फबाट जिम्मेवारी निभायौँ । मलाई यो कुरा स्वीकार्न कुनै हिचकिचाहट छैन ।”

चलचित्र ‘रुप की रानी चोरो का राजा’ लामो विलम्बपछि सन् १९९३ मा रिलिज भयो । यद्यपि, चलचित्र बक्स अफिसमा नराम्रोसँग खस्कियो ।

भविष्यमा भाग्यले साथ छोडेर फेरि त्यही परिस्थिति आएमा पहिलेकै बाटो अपनाउने भन्दै कपुर भन्छन्, “म र मेरो परिवार भाग्यशाली छौँ कि त्यो विगतको समय थियो र त्यसपछि हाम्रो परिस्थिति त्यति कठिन भएको छैन । तर, यदि हाम्रो भाग्यले मोड लियो र हामीले फेरि खराब समयको सामना गर्नुप¥यो भने मेरो परिवारको हेरचाहका लागि जे गर्न पनि म तयार हुनेछु ।”

साथै, अनिलले बलिउडमा करियरलाई लिएर पनि केही सल्लाह दिए । यदि, यही इन्डष्ट्रीमा करियर बनाउने भए आफूसँग भएको सबै कुरा दिन तयार हुनुपर्ने सुझाए । ता कि असफलताले तपाइँलाई हार्न नदिओस्  । हिन्दुस्तान टाइम्सबाट ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय